सीप, स्वरोजगार र शिक्षामा जोड: हल्दीबारीमा विभिन्न सहायता सामग्री वितरण

नेपत्र अनलाइन नेपत्र अनलाइन
|
बुधबार, श्रावण १३, २०८३
|
|
हेरिएको
Shares
सीप, स्वरोजगार र शिक्षामा जोड: हल्दीबारीमा विभिन्न सहायता सामग्री वितरण

सारांश

  • हल्दीबारी, झापा ।
  • हल्दीबारी गाउँपालिकाले अपाङ्गता भएका, विपन्न तथा दलित समुदायका व्यक्तिहरूको आर्थिक सशक्तीकरण र स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न सहायता सामग्री हस्तान्तरण गरेको छ।
  • साथै, विद्यालय जाने विद्यार्थीहरूको शिक्षामा पहुँच सहज बनाउने उद्देश्यले साइकलसमेत वितरण गरिएको छ।

हल्दीबारी, झापा । हल्दीबारी गाउँपालिकाले अपाङ्गता भएका, विपन्न तथा दलित समुदायका व्यक्तिहरूको आर्थिक सशक्तीकरण र स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न सहायता सामग्री हस्तान्तरण गरेको छ। साथै, विद्यालय जाने विद्यार्थीहरूको शिक्षामा पहुँच सहज बनाउने उद्देश्यले साइकलसमेत वितरण गरिएको छ।
गाउँपालिकाले लक्षित वर्गअन्तर्गतका अपाङ्गता भएका तथा विपन्न समुदायका व्यक्तिहरूलाई ३ थान ठेला र ८ थान सिलाई मेसिन हस्तान्तरण गरेको हो। त्यसैगरी, दलित समुदायका व्यक्तिहरूलाई परम्परागत आरन व्यवसाय सञ्चालन तथा प्रवर्द्धनका लागि आवश्यक सामग्रीका ७ सेट वितरण गरिएको छ। विद्यार्थीहरूलाई विद्यालय आवतजावतमा सहजता प्रदान गर्ने उद्देश्यले १७ थान साइकलसमेत हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ।

कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, हल्दीबारी गाउँपालिका तथा करुणा फाउन्डेसनको संयुक्त लागत साझेदारीमा साइकल तथा सिलाई मेसिन वितरण गरिएको हो। त्यस्तै, कोशी प्रदेश सभा सदस्य माननीय गोपाल गजमेरको पहलमा आरनसम्बन्धी सामग्री तथा ठेला हस्तान्तरण गरिएको जनाइएको छ।

कोशी प्रदेश सभा सदस्य माननीय गोपाल गजमेरको प्रमुख आतिथ्यमा सम्पन्न सहायता सामग्री हस्तान्तरण कार्यक्रममा हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनको अध्यक्षता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा कोशी प्रदेश सभा सदस्य गजमेरले राज्यले लक्षित वर्गका व्यक्तिहरूलाई केवल सहायता उपलब्ध गराउनेभन्दा पनि उनीहरूलाई आत्मनिर्भर र आर्थिक रूपमा सक्षम बनाउने कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताए। वितरण गरिएका सामग्रीको उचित प्रयोग गरी आयआर्जन तथा स्वरोजगारमा जोडिन उनले लाभग्राहीहरूलाई आग्रह गरे।

प्रदेश सभा सदस्य गजमेरले परम्परागत आरन व्यवसाय नेपाली समाजको मौलिक सीप र संस्कृतिसँग जोडिएको उल्लेख गर्दै पछिल्लो समय यो पेसा क्रमशः हराउँदै जान थालेको बताए। आरन व्यवसायको संरक्षण तथा प्रवर्द्धनका लागि आवश्यक सामग्री उपलब्ध गराउनुका साथै नयाँ पुस्तालाई समेत यस व्यवसायप्रति आकर्षित गर्नुपर्नेमा उनले जोड दिए।

उनले आरन व्यवसायलाई आधुनिक प्रविधि र बजारसँग जोड्न सके स्थानीयस्तरमै रोजगारीका अवसर सिर्जना गर्न सकिने धारणा राखे। स्थानीय सीप, स्रोत र सम्भावनाको पहिचान गरी उत्पादन तथा स्वरोजगारसँग जोड्ने कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिनुपर्ने उनको भनाइ थियो।

कार्यक्रमका अध्यक्ष तथा हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनले गाउँपालिकाले लक्षित वर्गको आवश्यकता र सम्भावनालाई ध्यानमा राखी आयआर्जनमुखी कार्यक्रम सञ्चालन गर्दै आएको बताए। सहायता सामग्री वितरणलाई केवल राहतका रूपमा नभई आर्थिक गतिविधिमा जोड्ने माध्यमका रूपमा लिइएको उनको भनाइ थियो।

अध्यक्ष लिङ्देनले सिलाई मेसिन, ठेला तथा आरनसम्बन्धी सामग्रीले लाभग्राहीहरूलाई आफ्नै ठाउँमा स्वरोजगार बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। विद्यार्थीहरूलाई प्रदान गरिएको साइकलले विद्यालयसम्मको पहुँच सहज बनाउनुका साथै नियमित पठनपाठनमा समेत सकारात्मक प्रभाव पार्ने उनले बताए।

यसैगरी उपाध्यक्ष मैनालीले सहायता सामग्री प्राप्त गर्नु मात्र ठूलो कुरा होइन, त्यसको प्रभावकारी उपयोग गरी आफ्नो आर्थिक अवस्था सुधार गर्नु महत्वपूर्ण विषय हो भन्दै गाउँपालिकाले आगामी दिनमा पनि लक्षित वर्गका नागरिकहरूको क्षमता विकास, सीप प्रवर्द्धन तथा आर्थिक सशक्तीकरणका कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाउने धारणा राख्नुभएको थियो ।
सिप र रोजगार सँग जोडन पालिकाले विगत देखि नै यस्तो कार्यक्रमलाई निरन्तरता दिएको प्रमुख प्रशासकीय अधिकृतको भनाइ रहेको थियो।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्र, वडा नं. १ का वडाध्यक्ष देवीबहादुर थापा, वडा नं. २ का वडाध्यक्ष शुकलाल राजवंशी, वडा नं. ४ का वडाध्यक्ष सन्तकुमार थापालगायत जनप्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

सहायता सामग्री हस्तान्तरण कार्यक्रमले अपाङ्गता भएका, विपन्न तथा दलित समुदायका व्यक्तिहरूलाई आर्थिक उपार्जनमा सहयोग पुर्‍याउनुका साथै स्थानीयस्तरमै स्वरोजगार र रोजगारीका अवसर सिर्जना गर्ने वडा नं २ का वडा अध्यक्ष शुकलाल राजवंशीले विश्वास व्यक्त गर्नुभएको थियो । साथै, लोपोन्मुख बन्दै गएको परम्परागत आरन व्यवसायको संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरणमा समेत यस कार्यक्रमले सहयोग पुग्ने विश्वास लिइएको छ।
सामाग्री पाएपछि लाभान्वित व्यक्तीहरूले पालिका परिवारलाई धन्यवाद व्यक्त गरेका थिए ।कार्यक्रमको सहजीकरण योजना शाखा प्रमुख राजन न्यौपानेले गर्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
नेपत्र अनलाइन
नेपत्र अनलाइन
‘सबैका कुरा, निष्पक्ष समाचार’ नेपत्र अनलाइन।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?