झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा
सारांश
- झापा भद्रपुर।
- उद्योग वाणिज्य संघ झापाको आयोजनामा माघ ७ गतेदेखि सुरु हुने झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ।
- भद्रपुर क्षेत्रको व्यापार प्रवर्द्धन र आर्थिक गतिविधि चलायमान बनाउने उद्देश्यले महोत्सव भद्रपुर–८ स्थित मेची रंगशालामा माघ ७ देखि २१ गतेसम्म सञ्चालन हुने भएको छ।
झापा भद्रपुर। उद्योग वाणिज्य संघ झापाको आयोजनामा माघ ७ गतेदेखि सुरु हुने झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। भद्रपुर क्षेत्रको व्यापार प्रवर्द्धन र आर्थिक गतिविधि चलायमान बनाउने उद्देश्यले महोत्सव भद्रपुर–८ स्थित मेची रंगशालामा माघ ७ देखि २१ गतेसम्म सञ्चालन हुने भएको छ।

मूल आयोजक समितिका अनुसार महोत्सवका लागि आवश्यक भौतिक संरचना, व्यवस्थापन तथा अन्य तयारीहरू सम्पन्न भइसकेका छन्। महोत्सवमा १२० वटा व्यापारिक स्टलका साथै १० वटा खानाका परिकार स्टल रहने छन्। प्रत्येक दिन खेलकुदका विविध कार्यक्रम सञ्चालन गरिनेछ भने हरेक साँझ राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरूको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। उद्योग, व्यापार, कृषि र पर्यटन क्षेत्रलाई झल्काउने प्रदर्शनी तथा बिक्री–वितरण केन्द्रसमेत महोत्सवको आकर्षण रहनेछ।
झापा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष राजकुमार राईको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ भने अतिथि सत्कार समितिसमेत सक्रिय रूपमा परिचालित गरिएको छ। महोत्सवको संरक्षक भद्रपुर नगरपालिका रहेको छ।
पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै अध्यक्ष राईले झापा जिल्लाको समग्र आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्याउने उद्देश्यसहित महोत्सव आयोजना गरिएको बताए। उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, पशुपन्छी तथा पर्यटन क्षेत्रको प्रवर्द्धनमार्फत दीर्घकालीन विकास, आन्तरिक बजारको सुदृढीकरण, व्यवसायिक उत्थान र निकासीयोग्य वस्तुमा जोड दिने लक्ष्य रहेको उनले स्पष्ट पारे।
महोत्सवबाट करिब १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने तथा एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको झापा उद्योग वाणिज्य संघले जनाएको छ। ‘समृद्धिको आधार, आर्थिक विकासः कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने मूल नारासहित आयोजना हुन लागेको महोत्सवमा घरेलु, कृषि, पर्यटन तथा अन्तर्राष्ट्रिय वस्तु तथा सेवाको प्रवर्द्धनका लागि १२० विभिन्न स्टल राखिने छन्।
पत्रकार सम्मेलनमा कोशी प्रदेश सभा सदस्य छविलाल चुडाल, भद्रपुर नगर उपप्रमुख राधा कार्की, वडा नम्बर ८ का अध्यक्ष गौरव सुब्बा मनोजलगायत वक्ताहरूले मन्तव्य राख्दै औद्योगिक महोत्सवले वर्तमान चुनौतीपूर्ण अवस्थामा उद्योगी तथा व्यवसायीलाई आफ्ना उत्पादन र सेवाको प्रदर्शनका लागि प्रभावकारी मञ्च उपलब्ध गराउने विश्वास व्यक्त गरे।
कार्यक्रमको सहजीकरण महासङ्घका महासचिव सुमन्त मैनालीले गरेका थिए।



प्रतिक्रिया