गोदावारी एल्मुनाई एसोसिएसनद्वारा हल्दीबारीका सामुदायिक विद्यालयमा जाडोयामको न्यानो साथ

नेपत्र अनलाइन नेपत्र अनलाइन
|
सोमबार, माघ १२, २०८२
|
|
३६५ हेरिएको
Shares
गोदावारी एल्मुनाई एसोसिएसनद्वारा हल्दीबारीका सामुदायिक विद्यालयमा जाडोयामको न्यानो साथ

सारांश

  • हल्दीबारी ।
  • जाडोयामको चिसोले दैनिक जीवन कठोर बन्दै गएको समयमा हल्दीबारी गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत सयौँ विद्यार्थीका लागि न्यानोपन र भरोसाको सन्देश बोकेर गोदावारी एल्मुनाई एसोसिएसन उपस्थित भएको छ।
  • संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत तीन विद्यालयका विद्यार्थीलाई जाडोयामका लागि पोशाक वितरण गर्दै शिक्षा र समावेशी भविष्यप्रतिको प्रतिबद्धता पुनः पुष्टि गरिएको छ।

हल्दीबारी । जाडोयामको चिसोले दैनिक जीवन कठोर बन्दै गएको समयमा हल्दीबारी गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत सयौँ विद्यार्थीका लागि न्यानोपन र भरोसाको सन्देश बोकेर गोदावारी एल्मुनाई एसोसिएसन उपस्थित भएको छ। संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत तीन विद्यालयका विद्यार्थीलाई जाडोयामका लागि पोशाक वितरण गर्दै शिक्षा र समावेशी भविष्यप्रतिको प्रतिबद्धता पुनः पुष्टि गरिएको छ।


हल्दीबारी गाउँपालिका वडा नम्बर ३ स्थित लक्ष्मी माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा श्री पञ्चायत माध्यमिक विद्यालय, श्री लक्ष्मी माध्यमिक विद्यालय र दिपेन्द्र आधारभूत विद्यालयका गरी ४२५ विद्यार्थी लाभान्वित भएका छन्। पाँच लाख रुपैयाँभन्दा बढीको लागतमा वितरण गरिएको पोशाकले विद्यार्थीलाई जाडोबाट मात्र जोगाएको छैन, विद्यालयप्रतिको आकर्षण र आत्मविश्वास पनि बढाएको सरोकारवालाहरूको भनाइ छ।
कार्यक्रम लक्ष्मी माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णु तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो। गोदावारी एल्मुनाई एसोसिएसनका अध्यक्ष प्रकाश बाबु केसीले शिक्षा क्षेत्रमा गरिने सानो लगानीले दीर्घकालीन सामाजिक परिवर्तन ल्याउने उल्लेख गर्दै सामुदायिक विद्यालय सुदृढीकरण संस्थाको प्राथमिकता भएको स्पस्ट पारेका थिए ।
कार्यक्रममा संस्थाका कार्यकारी सदस्यहरू निर्मल कृष्ण श्रेष्ठ, सिकन्दर सिंह थापा, आयुष श्रेष्ठ, आयुष अधिकारी र विनोद दाहाल, शिक्षक–अभिभावक संघकी अध्यक्ष सुनिता महत्व, स्थानीय जनप्रतिनिधि, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा हल्दीबारी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष विष्णुप्रसाद ओलीले जाडोयाममा विद्यार्थीको आवश्यकतालाई सम्बोधन गर्ने यस्तो सहयोग प्रशंसनीय रहेको बताउँदै संस्थाप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले सोही अवसरमा हल्दीबारी गाउँपालिकामा सञ्चालन भइरहेको हात्तीपाइले रोग नियन्त्रण अभियानलाई सफल बनाउन सबैलाई औषधि सेवनमा सहभागी हुन आग्रह गर्नुभयो।


विद्यालय पक्षबाट मन्तव्य राख्दै लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक रामप्रसाद घिमिरेले आर्थिक, सामाजिक तथा भौगोलिक कारणले विद्यार्थी नियमित विद्यालय आउन नसक्ने यथार्थतर्फ ध्यानाकर्षण गराउँदै पोशाक वितरण कार्यक्रमले विद्यार्थीको मनोबल अभिवृद्धि गर्ने र विद्यालय उपस्थितिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।
संस्थाले श्री पञ्चायत माध्यमिक विद्यालयलाई १२० सेट, दिपेन्द्र आधारभूत विद्यालयलाई १०० सेट र लक्ष्मी माध्यमिक विद्यालयलाई २०५ सेट पोशाक हस्तान्तरण गरेको हो। कार्यक्रममा तीनवटै विद्यालयले सहयोगी संस्थालाई मायाको चिनो, प्रमाणपत्र तथा दोसल्ला ओढाएर कृतज्ञता व्यक्त गरेका थिए।
कार्यक्रमलाई सांस्कृतिक रूपमा पनि अर्थपूर्ण बनाउँदै दिपेन्द्र आधारभूत विद्यालयका विद्यार्थीहरूको नृत्य तथा लक्ष्मी माध्यमिक विद्यालयकी छात्रा सुशीला हस्ताको गायनले उपस्थित सबैलाई भावनात्मक बनाएको थियो। उत्कृष्ट प्रस्तुति दिने विद्यार्थीहरूलाई शिक्षक किशोर ओली र संस्थाका प्रतिनिधिहरूले सम्मान गरेका थिए।
कार्यक्रममा स्वागत मन्तव्य लक्ष्मी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक मदन पोख्रेलले व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन तथा सहजीकरण शिक्षक बोतकृष्ण पौडेलले गर्नुभएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
नेपत्र अनलाइन
नेपत्र अनलाइन
‘सबैका कुरा, निष्पक्ष समाचार’ नेपत्र अनलाइन।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?