हल्दीबारीमा दुई छुट्टाछुट्टै घटना; एक पुरुष र किशोरीको मृ’त्यु
सारांश
- हल्दीबारी।
- हल्दीबारी दुई फरक घटनामा एक पुरुष र एक किशोरीको मृत्यु भएको छ।
- जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हल्दीबारी गाउँपालिका–२ मिलनचोक पूर्वका ३७ वर्षीय सुनिल राम सोरेन मृत अवस्थामा फेला परेका छन्।
हल्दीबारी। हल्दीबारी दुई फरक घटनामा एक पुरुष र एक किशोरीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हल्दीबारी गाउँपालिका–२ मिलनचोक पूर्वका ३७ वर्षीय सुनिल राम सोरेन मृत अवस्थामा फेला परेका छन्। उनी स्थानीय पार्वती पाण्डेको धानखेतमा डुबेको अवस्थामा भेटिएका हुन्। शुक्रबार बिहान स्थानीयले धानबारीमा उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
सूचना प्राप्त भएपछि घटनास्थल पुगेको प्रहरी टोलीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा सोरेन हिजो राति कामबाट घर फर्किने क्रममा आएको हावाहुरी र वर्षाका कारण लडेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ।
मृतक सोरेनको शव थप अनुसन्धान तथा पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल, भद्रपुर पठाइएको छ।
यसैबीच, हल्दीबारी गाउँपालिका–२ पाराखोपीमा रुख ढलेर थिच्दा एक किशोरीको ज्यान गएको छ। बिहीबार राति करिब ९ बजेतिर वर्षासहित आएको हावाहुरीका कारण घर नजिकै रहेको आँपको रुख ढल्दा प्रेमलाल राजवंशीकी १७ वर्षीया छोरी आरती राजवंशीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
मृतक आरती राजवंशी हल्दीबारी मा.वि. को कक्षा १० मा अध्ययनरत छात्रा थिइन्। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रतिक्रिया